कारबाहीको दायरामा स्वास्थ्यकर्मी, पोलियो अभियान निरन्तर चल्ने
आइतबार, २२ फागुन २०७३
कपिलवस्तुमा बालबालिकालाई पोलियो खोप खुवाउँदै स्वास्थ्यकर्मी ।
तस्बिर: कल्पना पौडेल, रासस
काठमाडौं- स्वास्थ्य मन्त्रालयले पोलियो कार्यक्रममा अवरोध सृजना गर्ने स्वास्थ्यकर्मी माथि कारबाही प्रक्रिया अगाडी बढाएको छ । मन्त्रालयले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको भन्दै अवरोध गर्ने स्वास्थ्यकर्मीको सुचि बनाएर कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
आजबाट देशका १५ जिल्लामा पोलियो कार्यक्रम शुरु भएको छ । आज र भोलीलाई तय भएको कार्यक्रम स्वास्थ्यकर्मीले अवरोध सृजना गरेपछि प्रभावित भएको छ । मन्त्रालयले सबै जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सुचि तयार गर्दै स्वास्थ्य सेवा ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहाकार जिवन भण्डारीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले पोलियो कार्यक्रमलाई निरन्तर रुपमा चलाउने निर्णय समेत गरेको छ । ‘१५ जिल्लाका लक्षित बालबालिका सबैलाई पोलियो खुवाउने काम सकिएपछि मात्र कार्यक्रम सकिने छ,’ उनले भने, ‘यसबिचमा अटेर र अवरोध गर्नेहरुलाई कारवाही समेत अगाडी बढाइएको छ ।’ उनका अनुसार एक हप्ताभित्रमा १५ जिल्लाका १६ लाख बालबालिकालाई पोलियो खुवाउने काम सकिने अनुमान गरिएको छ । उक्त अवधिमा पनि नसकिएमा पोलियो कार्यक्रम निरन्तर चलिनै रहने उनले बताए ।
स्वास्थ्यकर्मीको अवरोधका कारण १५ जिल्लामध्ये सप्तरीमा भने आज पोलियो कार्यक्रम नै सुरु हुन सकेन । सुरु भएको जिल्लामा पनि विभिन्न समस्याहरु आएको भण्डारीले जानकारी दिए । मन्त्रालयले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरेको हो ।
स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सप्तरीमा कार्यक्रम नै सुरु नभएको हो । यस्तै सिरहा, महोत्तरी र कैलालीमा पनि कार्यक्रम निकै प्रभावती बनेको छ । अन्य जिल्लामा पनि फाट्टफुट्ट रुपमा मात्र कार्यक्रम गर्न सकिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीले आन्दोलन गरेका हुन् । उक्त ऐनमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीलाई पुल दरवन्दीमा राख्ने व्यवस्था छ । सोही अनुसार सरकारले स्तरवृद्धि भइ पदस्थापन हुन नसकेका स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्दै फागुन १९ गते १० बुँदे निर्णय पनि गरेको छ।
मन्त्रालयले स्तरबृद्धि भई पदस्थापन हुन नसकेका दफा ९ ख अन्तर्गतका स्वास्थ्यकर्मीलाई पुलदरबन्दीमा रहेकाहरुलाई सकेसम्म जिल्ला भित्रकै स्वास्थ्य संस्थामा राखिने, शैक्षिक योग्यता नपुगेका कर्मचारीलाई आगामी बर्ष तालिम उपलव्ध गराउने लगायतका दश बुँदे निर्णय गरेर मागको सम्बोधन गर्ने प्रयास गरेको छ । स्वास्थ्य मन्त्रीले पनि विज्ञप्ती जारी समाधानको समस्या प्रयासमा रहेकाले खोप कार्यक्रम सफल पार्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्