बिक्रीवितरणमा रोक लगाइएको ‘फर्मूला दूध’ खुल्लम खुला बिक्री
बुधबार, ०४ असोज २०७४
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ अनुसार त्यस्ता वस्तुहरूको प्रवद्र्धन र विज्ञापन गर्न तथा खुला बेचबिखन गर्न पाइँदैन । फार्मेसी सञ्चालकले भने यस नियमविपरीत त्यस्ता वस्तुहरूको खुला विज्ञापन गरिरहेका छन् । अस्पताल हाताभित्रै यस्ता वस्तुहरूको खुलमखुला बिक्री गरिएको छ । कानुनले भने अस्पताल हाताभित्र र वरपरका फार्मेसीमा ती वस्तुहरूको बिक्रीवितरणमा रोक लगाएको छ ।
कानुनले यस ऐनको उल्लंघन गरिएको पाइएमा मुद्दासमेत चलाउन सकिने अधिकार दिएको छ । ‘बलियो कानुन भएर पनि फितलो कार्यान्वयन कायम रहेका कारण दोषीलाई सजाय हुन नसकेको’ पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । उप्रेतीका अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुले बच्चाको स्वास्थ्यलाई हानि मात्रै गर्छ, यसको कुनै फाइदा नै छैन । ‘यसले एकछिनका लागि मात्रै बच्चाको पेट भरिएजस्तो हुन्छ जहाँ कुनै पोषण तत्त्व हुँदैन,’ डा. उप्रेतीले भनिन्, ‘यस्ता खानेकुराको बट्टामा अंकित फलफूल र भिटामिन सबै झूट हुन् ।’
सहरमा दिनानुदिन यस्ता कृत्रिम वस्तुहरूको माग बढ्दो छ । तौल बढ्ने, स्तनको आकार बिग्रिनेजस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दूध चुसाउने समय नहुँदा आधुनिक आमाहरू आफ्नो दूधको सट्टा बजारमा पाइने कृत्रिम दूध खुवाउने प्रवृत्तिका कारण यस्ता अखाद्य वस्तुहरूको माग बढिरहेको पोषणविद् बताउँछन् ।
कृत्रिम दूधको बढ्दो उपभोगका कारण पूर्ण स्तनपान दर घटी बाल स्वास्थ्य जोखिममा परिरहेको पोषणविद् डा. अतुल उपाध्यायले बताए । ‘बजारिया दूधले बच्चामा कुपोषण बढाउँछ, रोगसँग लड्ने क्षमता घटाउँछ, ‘डा. उपाध्यायले भने, ‘दीर्घकालमा गएर उनीहरू विभिन्न रोगबाट पीडित हुन्छन्, मानसिक असर पनि गर्छ ।’
बजारिया दूधको सट्टा बच्चालाई घरमै बनेका तरकारी र दालको रस फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । ज्वानो, मेथी र घरेलु खानेकुराको झोल सेवनमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । बजारिया दूधको माग नघटेसम्म नेपालमा बाल मृत्युदर नघट्ने स्वास्थ्य सेवा विभागका प्रमुख डा. राजेन्द्र पन्तले बताए । ‘स्तनपान र पोषणबारे चेतना नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुतर्फ आकर्षण बढ्दै गएको छ, यसको मागलाई घटाउनुपर्छ,’ डा. पन्तले भने ।
यस्ता वस्तुहरूको जथाभावी बिक्री रोक्न सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय र औषधि व्यवस्था विभागलाई तोकेको छ । अनुगमन गर्ने यी निकायहरू निष्क्रियताले पनि अवैध बिक्रीलाई बढावा मिलिरहेको छ । काठमाडौंका सबै सरकारी अस्पताल वरपरका फार्मेसीमा आकर्षक ढंगबाट यस्ता वस्तुहरूको बिक्री भइरहेको छ । अझ सरकारी शिक्षण अस्पतालमा परिसरभित्रैको फार्मेसीमा आकर्षक रूपले सजाएर राखिएको छ । आमाहरू डाक्टरकै सल्लाहमा बजारिया दूध किनेर बच्चालाई खुवाइरहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार बलियो कानुन अभावका कारण नियम मिच्ने व्यापारी बढिरहेका छन् । ‘हामीसँग बजेट र जनशक्ति अभाव छ, अनुगमन फितलो छ,’ उनले भने । औषधि व्यवस्था विभागका प्रमुख नारायणप्रसाद ढकालको पनि उस्तै जवाफ छ ।
Source: Ekantipur
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्