अप्रेसन गर्ने डाक्टरको घाँटीमा घण्टी ?

मङ्गलबार, ०३ असोज २०७४

 

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि एउटा कडा निर्णय गरेको छ । कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी सरकारले कानून निर्माण गर्ने निर्णय गरेको छ ।

 

कुनै पनि चिकित्सकले कुनै बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्ने छैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तरराष्ट्रिय प्रचलन छ । तर, अब सरकारले विरामीको उपचारमा लापरवाही गरेरमा सम्बन्धित डाक्टरबाट खर्च भराउने नयाँ व्यवस्था हुन लागेको छ ।

 

मन्त्रिपरिषदको सोमबारको निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यसो भने- ‘हस्पिटलहरुमा धेरै व्यक्तिहरु चिकित्सकको लापरवाहीको कारणले मृत्यु हुने र गम्भीर घाइते हुने परिस्थिति जन्मिन थालेको हुनाले ती पीडितहरुको क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’

 

 

चिकित्सकमा त्रास

विभिन्न अस्पतालहरुमा भर्ना भएका विरामीहरुको मृत्यु भएपछि क्षतिपूर्ति पाइने बाहनामा अनावश्यक हुलदंगा गर्ने र क्षतिपूर्ति माग्ने विकृतिसमेत बढिरहेका बेला सरकारले डाक्टरबाटै क्षतिपूर्ति भराउने गरी कानून ल्याउने निर्णय गरेपछि चिकित्सकहरु झस्किएका छन् ।

 

डा. राकेश बर्मा


 

दुई साता पहिले भक्तपुरको नागरिक अस्पतालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया गरेका मृगौला रोग विशेषज्ञ डा. राकेश बर्माले भने- ‘निजी वा सरकारी दुबै स्वास्थ्य संस्था र विज्ञ चिकित्सकहरुको सुरक्षा गर्ने जिम्मा सरकारको हो । खराब डाक्टरहरु छन् भने उनीहरुमाथि कारवाही हुनुपर्छ, तर चिकित्सा क्षेत्रलाई नै असुरक्षित महसुस गराउने सरकारी निर्णय सही होइन ।’

 

अहिले सरकारले सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा दिन नसकेको र विभिन्न विज्ञहरुले देशभित्रै बसेर जनतालाई स्वास्थ्य सेवा दिइरहेको भन्दै डा. बर्माले निजी वा सरकारी दुबै स्वास्थ्य संस्थामा काम गर्ने डाक्टरहरुको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको