सेयर बजारमा यसरी पुग्छ कालोधन

बिहिबार, २९ भदौ २०७४

 

काठमाडौं । गतवर्ष धितोपत्र बोर्डले सेयर बजारमा लगानी भएको कालोधनको विषय अनुसन्धान सार्वजनिक गर्ने घोषणा गर्यो ।

बोर्डले कालोधनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो ।

तर, सेयर बजार घट्न थालेपछि लगानीकर्ताका विभिन्न संस्थाले गरेको विरोधपछि कालोधनको अनुसन्धान नगर्ने प्रतिबद्धता बोर्डले जनायो ।

धितोपत्र बोर्ड लागू औषध कारोबारमा संलग्न भएको खुलेपछि पलायन भएका उद्योगी मधुसुधन अग्रवालका परिवारका सदस्यले सेयर बजारमा ठूलो रकम लगानी गरेको भेटेपछि यसको अनुसन्धान गर्ने निष्कर्षमा पुगेको थियो ।

‘लागु औषधको कारोबार गरेर केही समुहले सेयर बजारमा लगानी गरेको भेटिएको थियो’ धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘तर, अन्य निकायबाट सहयोग पनि भएन यो मुद्दा त्यसै सेलाएर गयो ।’

२०६४ सालमा संविधानसभा सदस्य भएका मधुसुधन अग्रवाल लागू पदार्थको कारोबारमा मुछिएका व्यवसायी हुन् । उनी अहिले भारतमा रहेको बताइएको छ ।

 

औषधी उत्पादन गर्ने कम्पनी सेयर कारोबारमा प्रत्यक्ष संलग्न हुनु आफैमा अनौठो घटना थियो ।

 

गत वर्ष प्रिमो सेक्युरिटीजबाट पुष्पा अग्रवालको नाममा विभिन्न कम्पनीको ५७ लाख रुपैयाँको सेयर खरिद भएको थियो । यस्तै श्रुति अग्रवालको नाममा २ करोड रुपैयाँको विभिन्न कम्पनीको सेयर खरिद भएको थियो ।

लागू औषध कारोबारमा मुछिएको एस ड्रग ल्याबरोटरीले नै गतवर्ष १ करोड रुपैयाँको विभिन्न कम्पनीको सेयर खरिद गरेको थियो । औषधी उत्पादन गर्ने कम्पनी सेयर कारोबारमा प्रत्यक्ष संलग्न हुनु आफैमा अनौठो घटना थियो ।

गतवर्ष सुधा अग्रवालको नाममा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भयो । यस्तै अग्रवाल परिवारको मातहतमा रहेको सन ग्लो इन्भेष्टमेन्टबाट ५४ लाख रुपैयाँको सेयर बिक्री भयो । भिवान अग्रवालको नामममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भयो । यी सबै सेयर प्रिमो सेक्युरिटीबाट खरिद तथा बिक्री भएको थियो ।

नेपाल प्रहरीको लागू औषध अनुसन्धान ब्युरोले एसआर ब्याबरोटरी, ललितपुरको आर्या फर्माच्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकलमा एकसाथ छापा मारेको थियो । प्रहरीले छापा मार्दा औषधी बनाउने कम्पनीले लागू पदार्थको कारोबार गरेको भेटिएको थियो ।

लागू पदार्थको कारोबारमा ठूला व्यापारी जोडिए पनि कारवाही भने भएको छैन ।

पछिल्लो दुई वर्ष सेयर बजारमा अत्याधिक कारोबार भयो । जसमा सेयर बजारमा विभिन्न खालका लगानी भित्रिए । जसमा केही लगानी गैरकानूनी तरिकाबाट कमाएको धन सेयर बजारमा आएको थियो ।

लागू औषध कारोबारमा मुछिएका अग्रवाल तथा उनको परिवारले ठूलो लगानी सेयर बजारमा गरेको घटनाले बजारमा कालोधन भित्रिएको पुष्टी हुन्छ ।

सेयर बजारमा कारोबार रकम बढेको आर्थिक वर्ष २०७२/७३ पछि हो । आर्थिक बर्ष २०७२/७३ मा १ खर्ब ६३ अर्ब रुपैयाँको कारोबार भयो । यस्तै आर्थिक बर्ष २०७३/७४ मा २ खर्ब रुपैयाँको सेयर कारोबार भयो ।

जबकि, सेयर कारोबार आर्थिक बर्ष २०७१/७२ मा ६५ अर्ब रुपैयाँ र त्यसको अघिल्लो वर्ष ७७ अर्ब रुपैयाँको थियो ।

सेयर बजार सुधारको लागि कालोधन रोक्नुपर्ने भएपनि नियामक निकायको कमजोरी र लगानीकर्ताका संस्थाहरुको रुवाईले यो रोकियो ।

‘सेयर बजारको दीर्घकालिन हितको लागि कालोधन रोक्नुपर्नेमा निकायक निकायले अध्ययन गर्न सकेन’, एक लगानीकर्ताले भने, ‘लगानीकर्ता संघले कालोधनको विषय अनुसन्धान गर्न सहयोग गर्नुपर्नेमा रोक्नको लागि धर्ना बस्ने काम गरे ।’

सेयर बजारको बढ्दो क्रममा कालोधन भित्रन सक्ने खतरा हुन्छ ।

‘आर्थिक बर्ष २०७२/७३ पछि सेयर बजारमा धेरै खाले लगानीकर्ता प्रवेश गरे’, एक सेयर ब्रोकरले भने, ‘त्यसमा केही गलत तरिकाले पैसा कमाएका व्यक्ति प्रवेश भएको थयो । तर, नियामकले केही पनि अध्ययन गर्न सकेन ।’

सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ अनुसार सेयर बजारमा पनि १० लाखभन्दा बढीको सेयर खरिदमा सम्पत्तीको स्रोत खुलाउनु पर्ने हुन्छ ।

 

Source: Clickmandu


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको