न्याय मरेको ‘मेरो देश’
बिहिबार, २९ भदौ २०७४
टिप्पणी । लोकतान्त्रिक गणतन्त्र नेपालमा न्यायको चीर हरण पनि लगभग २५–३० वर्ष पहिले बहुदल कालमा तत्कालीन सत्ताले बाहुबलले उडाए जस्तै उडाउलान् भन्ने सायद ०६२–६३ को आन्दोलनमा होमिएका जनताहरुले सोचेका थिएनन् होला ।
उनीहरुका आँखामा गणतन्त्र नेपाल, समृद्ध नेपाल, सुुशानयुक्त नेपाल, न्याय र मानव अधिकारले अमन चैन भएको नेपाल हुने छ भन्ने नै थियो ।
नत्र मानिस ज्यान फालेर आन्दोलनमा गोली खान किन अघि हुत्तिन्थ्यो होला र !
तर, गणतन्त्रलाई संस्थागत गर्दासम्म नेपालले धेरै कुरा गुमाइरहेको दिनदिनै अनुभूति गर्नु परेको छ ।
सुरु सुरुमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाउँमा कहिलै नभएका उद्योगहरु चलेको नेपाली जनताले देख्नु पर्यो भने अब शान्ति प्रक्रिया टुंगिएसँगैका राजनीतिक यात्रा भने जनताले चाहे भन्दा विपरीत मार्गमा बगेको देखिरहनु परेको छ ।
मानौं नेपाली जनता निमुखा हुन्, निरीह छन्, दिउसै रात परे पनि टुलु टुलु हेरिरहनु पर्ने छ ।
संविधान जारी नहुँदासम्म संविधानमा जातीय आधारमा धर्सा तान्ने र नेपाल आमाका कुनाकानी लुछाचँडी गरेर भागबन्डा गर्ने लडाईले सडकदेखि सदनसम्म धुलाम्मे सडक झैं ढाकिने गरेको थियो भने चर्काे चर्काे कुरा गरेर नेपाल त अहिले नै जातीय युद्धमा नगई नहोला जस्तै गरी शीर्ष भनिने धेरै क्रान्तिकारी नेताहरु कुर्लिएको धेरै पटक सुनियो ।
संविधान जारी भयो, भारतले नाकाबन्दी थोपरिदियो । जातीय लडाई मत्थर हुँदै गएको हो कि भन्दाभन्दै क्षेत्रीयवाद हाबी भयो ।
तराई सबैभन्दा घाँडो बनेर नेपाली राजनीतिमा देखा पर्यो ।
२० वर्ष पछि भएको स्थनीय चुनावसम्म आइपुग्दा धेरै नै नौटंकी देख्न पुगे नेपाली जनताले जहाँ अनावश्यक झन्झट झिकेर बालकृष्ण ढुंगेल जस्ता ‘अपराधी’ जोगाउन न्यायमूर्ति सुशीला कार्कीलाई महाभियोग लगाउनेदेखि भारतीय सेनाबाट कञ्चनपुरमा नेपाली गोविन्द गौतमलाई मार्दासम्म यहाँको सरकारले चुक्का बोल्न सकेन ।
भरतपुरमा मतपत्र च्यातिदा न्यायालयबाट अभियुक्तहरु पुरस्कृत हुनेदेखि न्यायका लागि लडिरहेको न्याय सेवाको सारथी प्रहरी डिआइजी नवराज सिलवालहरुको मुद्दा नै खारेजी गर्नेसम्मका नजिरहरु हेर्दा वास्तवमै गणतन्त्र पनि पहिले कै सामन्तहरुको बाहुबलतन्त्र भन्दा किमत्ति फरक नभएको महसुस भइरहेको छ ।
तसर्थ, पछिल्ला दिनमा न्याय मार्ने खेलको जग हिजैदेखि सुरु भयो, यसरी नेपालमा न्याय मारिदै आइयो !
झन्डै सात महिना लामो लडाइँ लडेर न्यायको सुनुवाइ होला भन्ने आशमा सर्वाेच्च अदालत पुगेका नवराज सिलवालहरुको त यहाँ सुनुवाइ त परै जाओस् रिटै खारेजी गराउन यहाँको प्रधानन्यायाधीश लाग्छन् भने, अदालतका अन्य न्यायाधीशहरुले आश्चर्य नमाने हुन्छ, गोरखा फुजेलकी गंगामायाको पनि न्याय उनकै पतिको मृत्यु जसरी मरेर जान्छ भन्ने कुरामा ।

एक वर्ष अघि उनका श्रीमान् जसले आफ्नो छोराको हत्या विरुद्ध न्याय पाउन राज्यसँग आमरण अनसन बसेरै मर्नै पर्यो ।
जुन देशमा प्रहरी सेवामा काम गरेरै इनाम कमाएका सिलवाललाई सरकारले दिउसै विना पूर्जी पक्राउ गर्ने काम गर्यो भने यहाँ सर्वसाधारणको न्याय पाउने अधिकार ज्यूँदै छ भनेर कल्पाना गर्न सकिएला ?
सर्वाेच्च अदालतमा हिजो मंगलबार प्रधानन्यायाधीश रहेका गोपाल पराजुली सहितको वृहत् पूर्ण इजलासले डिआइजी सिलवालको मुद्दा सुरुआति सुनुवाई नै नहुने गरी खारेजी गरिदिएपछि न्यायाधीशहरु चकित भएका थिए ।
मुद्दा हार्न सक्छ, तर मुद्दाको सुनुवाइ नै नहुने भन्ने प्रकृतिको मुद्दा त सिलवालको थिएन नि ! राज्यले अन्याय गर्यो भनेर अब अदालत नगए हुने पछिल्लो जबरजस्त नमुना बन्न पुगेको छ सिलवाल माथि गरिएको न्याय हथकन्डा ।
सिलवालले राजिनामा समेत दिएका छन् ।
२९ वर्ष प्रहरी सेवामा रहेको सिलवाल प्रहरी सेवामै उत्कृष्ट भित्र जनताको नजरमा परेका राष्ट्र सेवकका रुपमा गनिएका थिए ।
राजिनामा दिदै सिलवालले लेखेको हृदयविदारक पत्र— ‘मेरो नियति कसैले भोग्न नपरोस्’
उनले नेपाल र नेपालीका अगाडि दिएको यो अभिव्यक्ति लगभग सबै उत्पीडितहरुको अभिव्यक्ति हो ।
किनकि यतिबेला आफ्नो छोराको लास कि सास मागेर वीर अस्पतालको शैय्यामा मृत्यु नजिक पुगेकी गंगामाया अधिकारीलाई सोध्ने हो भने पनि उनले यसै भन्ने छिन्, ‘मेरो नियति कसैले भोग्न नपरोस् !’
के कानुनी राज्य यही हो ? यस्तै हुनु पर्छ प्रजातान्त्रिक न्याय ?
सिलवालले थपे, ‘र, प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस्’
उनले लेखेको भावुक पत्रको पूर्ण अंश:
आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु !
न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनि लडाइको आज अन्त भएको छ ।
मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो ।
यो लडाई प्रहरी सँगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वैच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्याय माथि न्यायको बिजयका लागि थियो ।
यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो ।
यसलाइ विसुध्द व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सिमित गरिनुपर्नेमा यसलाई विष्यान्तर गर्ने कोशिसहरु भए र म मुक दर्शकको रुममा पिडा वोध गरिरहें । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानून वमोजिमको आदेसको पालना गर्नुको विकल्प हुदैन ।
त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जो सुकै होस उसको कानूनको अक्तियारी मात्र महत्वको हुन्छ । उ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हुदैन ।
नेपालको राजनितिक परिदृस्यमा लगभग सवैले आलोपालो गरेकै हुन ।
प्र्रहरीले सत्तामा रहेकाको कानून वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनि नगरे जस्तै आज्ञापलान गर्ने प्रहरी संग कुन दलसंगको निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुंदैन ।
एउटा सिपाहिको लागि राजनितिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानून नै हो । राजनीतिक प्रकृयावाट वनेको कानून वमोजिम काम हुन्छ भने राजनितिक निर्णयको पालना भनेको त्यहि नै हो ।
सो देखी वाहेक व्यक्ति पिक्षेको अकांक्षा स्वार्थ वा दम्वको सिकार प्रहरीलाई वनाउन सकिदैन ।
प्रहरी माथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहे सम्म कानूनि राज्य स्थापित हुन सक्दैन ।
कानूनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन ।
प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सकदैन ।
प्रहरी संगठन वा प्रहरी अनुसासन माथि वलात कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ ।
राजनितिक दल र निर्वाचन जस्ता प्रकृयाहरु मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुदैनन, कानून र कानूनका पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत सर्तहरु हुन्छन ।
त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भिर चिन्ता लागेको छ ।
प्रहरी संगठनको विरुध्द विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ ।
जतिसुकै ठूलामान्छे वा शक्तिसालि वा लोकप्रिय किन नहुन प्रहरीको सम्वन्धमा कानून संगत व्यवसायिक र सयमित रहनु पर्ने हुन्छ ।
यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दा गर्दे स्वयम म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस गरेको छु ।
म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस भन्ने कामना व्यक्त गर्दछु ।
मैले मेरो जीबनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएं ।
यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेको छु ।
प्रणालीको बिकासमा समय खर्चेको छु । कानूनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको बिरुद्दमा राज्यले गर्नु पर्ने जिम्मेवारीका उदाहरणहरु प्रस्तुत गर्ने प्रयास गरेकोे छु ।
मैले हरेक कठिन समयहरुमा स्वदेश र विदेशमा वसेर गरेका कामहरुले मानिसहरुको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई संधै प्राप्त छ ।
म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरु लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् ।
प्रहरी सँगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसँग जोडिएको छ ।
हस्तक्षेप रहित ढँगले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षेतिवाट जोगाउन सकिन्छ ।
म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किन्चित पनि बिचलित नभै प्रहरीको व्यावसायिकताको सम्वर्धनमा लाग्न अनुरोध गर्दछु ।
प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन ।
झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याडकन गर्ने नै हुँदा म सबै साथीहरुलाई निरास नभई मुलुक प्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडि दिनु उचित ठान्छु ।
भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिकामा रहने छु । यस उद्दयेस्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु ।
इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून ।
एक जना कर्तब्यपरायण सिपाहि माथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दो रहेछ ।
प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पिडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ ।
यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको वरवादि, साधन श्रोतको क्षेति, न्यायालय माथिको राजनैतिक आक्रमणबाट न्याय प्रेमीहरुमा पर्न गएको आघात दुःखद छन ।
स्थापित मूल्य मान्यता माथि धावा बोल्ने र कानूनको शासनमा बिश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार कोहि पनि देशभक्त नेपालीले हुनु नपरोस् ।
मेरो इश्वर संग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पना सम्म पनि गर्नु नपरोस् ।
न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्याय प्रेमी देश भित्र र वाहिरका सम्पूर्ण दाजुभाइ दिदी वहिनीहरु, पत्रकार मित्रहरु, स्वयमसेवकको रुपमा वहसपैरवि गरि सहयोग गर्नु हुने कानुन व्यवसायिहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी संगठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरु प्रति तपाईंहरुको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मुलुकका लागि इमान्दारीता पूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवि भएको मेरो अनुभवले मलाई सिकाएको छ ।
जसरी पनि पद हाँसिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाठिको अन्त गर्ने तर्फको मेरो लडाईले आउँदा दिनहरुका लागि एउटा वाटो कोरेको मैले महसुस गरेकोछु ।
वाँकि आन्तरिक सढयन्त्रका अपत्यारीला कडीहरुको विवरण म इतिहाँसको जिम्मामा छोड्न चाहन्छु । मैले जीवन भर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु ।
मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै । अन्तमा, आज म अन्यायमा पर्दा पनि सम्यमित छु ।
फगत म प्रहरी संगठनको महानिरिक्षक हुन सकिन तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु।
म निवृक्त भए पनि मेरो प्रहरी मन कहिल्यै निवृक्त हुने छैन ।
जनताका सवै सुखदुखका प्रहरहरुमा म संधै संगै रहने छु । नेपाली जनताको निसान्त जुन सुभेक्षा र सदभाव यो सम्पूर्ण प्रकृयामा जसरी निरन्तर प्राप्त गरिरहें त्यसको लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु ।
आउंदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु ।
अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हुदों रहेछ भन्ने अनुभुतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरुको एउटा ससक्त आवाज वन्ने कोशिस गर्र्नेछु ।
आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु ।
धन्यवाद ! जय नेपाल !
Source: निर्माण सञ्चारवाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्