के नरेन्द्र मोदी रोहिंग्या संकटमा ‘हिन्दू कार्ड’ खेलिरहेका छन् ?

सोमबार, २६ भदौ २०७४

 

म्यानमारबाट आएका मुस्लिम रोहिंग्या शरणार्थीलाई अवैध तथा देशको सुरक्षाका लागि खतरा बताएर भारत सरकारले हालै उनलाई देशबाट निकाल्ने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा लिइएको छ, जब म्यानमारबाट हजारौँ रोहिंग्या मुसलमान सुरक्षाबलको कारबाहीबाट आफ्नो ज्यान बचाएर बंगलादेशको सिमानातिर भागिरहेका छन् । भारतले ती रोहिंग्या शरणार्थीलाई देशबाट बाहिर निकाल्ने निर्णय गरेको छ, जसले कैयौँ वर्षदेखि यहाँ शरण लिएका छन् । भारत सरकारले रोहिंग्या विद्रोहीविरुद्ध म्यानमारको सुरक्षाबलको कारबाहीलाई पनि समर्थन गरेको छ ।

 

रोहिंग्या शरणार्थी

भारतमा रहेका अधिकांश रोहिंग्या शरणार्थी पाँच वर्षअघि म्यानमारमा सुरक्षाबल र बौद्ध अतिवादीको अत्याचारबाट ज्यान जोगाएर भारत आएका थिए । शरणार्थीसम्बद्ध संयुक्त राष्ट्र संघीय निकायको आँकडाअनुसार भारतमा १४ हजारभन्दा बढी रोहिंग्या शरणार्थी छन् । पछिल्लो ताजा घटनाक्रमका कारण हजारौँ रोहिंग्या मुसलमान एकपटक फेरि देश छाडेर बंगलादेशतर्फ भागिरहेका छन् । संयुक्त राष्ट्र संघ, अमेरिका, ब्रिटेन र युरोपेली युनियनले रोहिंग्या संकटलाई अत्यन्त चिन्ताजनक बताएका छन् ।

 

मुस्लिम शरणार्थीबाट हैरानी ?

म्यानमारमा आङ सान सुकीको नजरबन्दी र लोकतन्त्र समर्थक आन्दोलनको क्रममा हजारौँ नागरिक तथा राजनीतिक नेताले भारतमा शरण लिएका थिए । आफ्ना आध्यात्मिक गुरु दलाई लामाको नेतृत्वमा हजारौँ तिब्बती हिमाञ्चल प्रदेश, सिक्किम र उत्तराञ्चलमा वर्षौंदेखि बसिरहेका छन् ।
नेपाली नागरिकका लागि भारत खुला छ । लाखौँ नेपाली नागरिक भारतमा बसोवास गर्छन् । यहाँ काम गर्छन् । श्रीलंकाली गृहयुद्धको क्रममा लाखौँ तमिलले भारतमा शरण लिएका थिए । यस्तोमा प्रश्न उठ्छ कि सवा अरब जनसंख्या भएको देशको सरकारलाई केही हजार रोहिंग्या मुस्लिम शरणार्थीबाट हैरानी के छ ?

 

हिन्दू कार्ड

केही पर्यवेक्षकका अनुसार मोदी सरकार रोहिंग्या शरणार्थीको विरोध गरेर ‘हिन्दू कार्ड’ खेलिरहेको छ । उनीहरूको भनाइ छ कि प्रधानमन्त्री मोदीको सरकार मुसलमानको नाममा जब–जब कुनै कठोर कदम उठाउँछ या कुनै यस्तो बयान दिन्छ भने यसबाट उसको लोकप्रियता बढ्ने गरेको छ । टिभी च्यानलमा रोहिंग्या शरणार्थीलाई देशको सुरक्षाका लागि खतरा भएको बताइएको छ । बहसमा बताइँदै छ कि यी शरणार्थीको अलकायदा र इस्लामिक स्टेटजस्ता चरमपन्थी संगठनसित सम्बन्ध छ र उनीहरू भारतमा आतंकवादको नेटवर्क फैलाइरहेका छन् ।

 

सरकारको नीति

रोहिंग्या शरणार्थीको संख्या बढाई–चढाई गरी बताउने गरिएको छ । केही च्यानलले त आफ्नो घृणालाई यति खुलेर प्रदर्शन गरिरहेका छन् कि उनीहरूले ‘विदेशी मुसलमान हो, भारत छोड’ भन्ने नारा दिन थालेका छन् । रोहिंग्या शरणार्थीबारे मौजुदा सरकारको नीति कुनै अचम्मको विषय होइन । नरेन्द्र मोदीले ०१४ को आफ्नो निर्वाचन अभियानको क्रममा भनेका थिए कि उनी केवल हिन्दू शरणार्थीलाई आफ्नो देशमा आउन दिनेछन् । गैरहिन्दू शरणार्थीलाई शरण दिइनेछैन । र, जो गैरहिन्दू अवैध शरणार्थी देशमा छन्, उनीहरूलाई निकालिनेछ ।

 

बाँडिएको समाज

भारतमा मुसलमानलाई लिएर घृणाको भावना चरम स्थितिमा छ । मिडियाको यो सबैभन्दा प्रिय विषय बनेको छ । हरेक साँझ समाचार च्यानलमा घृणाको लहर चलिरहेको हुन्छ । जे–जे विषयलाई मानिसले मनमा राख्थे, अब त्यो खुलेर बाहिर प्रकट गरिरहेका छन् । पूरै समाज यस समय विभाजित भइरहेको देखिन्छ । रोहिंग्या मुसलमान पनि भारतको यही घृणाको राजनीतिको सिकार भएका छन् । उनीहरूलाई देशबाट निकाल्न सजिलो हुनेछैन किनकि म्यानमार उनीहरूलाई आफ्ना नागरिक भएको नै स्विकारिरहेको छैन । र, शरणार्थीलाई जबर्जस्ती कुनै दोस्रो मुलुकमा पठाउन सकिन्न ।

 

शरणार्थीको जीवन

सरकारको शरणार्थीलाई निर्वासित गर्ने घोषणाले यी शरणार्थीको जीवन थप कठिन बनेको छ । मिडियाले उनीहरूलाई जेहादी र उग्रवादी बताएर आममानिसको दिमागमा उनीहरूबारे सन्देह पैदा गराएका छन् । रोहिंग्या शरणार्थी कुनै पनि प्रकारबाट आफ्नो ज्यान बचाएर हजारौँ माइलको यात्रा गरेर यहाँ पुगेका थिए । यहाँ पनि शिविरमा उनीहरूको जीवन एकप्रकारले मृत्युबराबर नै छ, तैपनि उनीहरू त्यही जीवन पनि बाँच्न अभिशप्त छन् ।

आफ्नो देशमा उनीहरूले नश्ल र धर्मका कारण अत्याचारको सामना गर्नुप¥यो । म्यानमारमा उनीहरूको बस्ती जलिरहेको छ । लाखौँ जनता सुरक्षित आश्रयका लागि जता सकिन्छ, त्यतै भागिरहेका छन् । मानव अधिकार संगठनहरूको भनाइ छ कि यस्तो स्थितिमा भारतमा उपस्थित रोहिंग्या शरणार्थीलाई निर्वासित गर्ने निर्णय अमानवीय मात्र छैन, अपितु यसबाट यहाँको समाजमा जातीय तथा धार्मिक घृणाको पनि जानकारी पाइन्छ ।
(सकिल अख्तर बिबिसी संवाददाता हुन्)
बिबिसी हिन्दी डट कमबाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको