आत्महत्या गर्ने प्रयास बढी महिलाले गर्छन् तर पुरुष बढी मर्छन्
आइतबार, ०४ भदौ २०७४

डा. दीपप्रकाश मल्ल, मानसिक रोग विशेषज्ञ-दुई साताअघि चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेपछि धेरैले आश्चर्य व्यक्त गरे । आफू पनि खुसी रहने र अरूलाई पनि खुसी राख्ने तथा व्यावसायिक रूपमा सफल व्यक्तिले किन आत्महत्या गर्यो होला भन्ने प्रश्न पनि उठ्यो । समाज जति–जति आधुनिक र विकसित हुँदो छ, आत्महत्याको दर पनि बढ्दो छ । मानिस किन र कसरी आफ्नो अमूल्य जीवन लिनेसम्मको परिस्थितिमा पुग्छ त ? प्रस्तुत छ, नर्भिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. दीपप्रकाश मल्लको विश्लेषण -
पछिल्लो तथ्यांकअनुसार नेपालमा औषत प्रतिदिन १५ जनाले आत्महत्या गरेर ज्यान गुमाउने गरेका छन् । तर, आत्महत्याको प्रयासका बाबजुद ज्यान नगुमेका घटना त कति होलान् कति ? आत्महत्याको प्रयास असफल भएर अस्पताल भर्ना भएका खबरहरूको आधारलाई लिने हो भने दैनिक तीसौं व्यक्तिहरू आत्महत्याको प्रयासमा लागेको पाइन्छ । विभिन्न अध्ययनले आत्महत्याका पछाडि ९० प्रतिशत मानसिक रोग नै कारण रहेको हुन्छ भन्छ । मेरो विचारमा नेपालमा हुने ९९ प्रतिशत आत्महत्याका पछाडि मानसिक रोग नै प्रमुख कारण हो ।
तर, मानसिक रोग नियन्त्रण गर्न सकिने रोग हो । मानसिक रोग नियन्त्रण गर्नु भनेको आत्महत्या वा आत्महत्या प्रयास पनि नियन्त्रण हुनु हो । त्यसैले हामीले आत्महत्यालाई नियन्त्रण गर्न सकिने समस्याको रूपमा हेर्नु जरुरी हुन्छ ।
मानसिक रोग भनेपछि मानिसहरू नराम्रो बुझ्छन् । पागल हुने, बौलाउने रोग मात्रै हो भन्ठान्छन् । यो सोचाइले त मानसिक रोगको सुरुवाती अवस्थालाई थप फैलन मद्दत गर्छ । सुरुमै परामर्श वा उपचार हुन सकेको खण्डमा मानसिक रोग पनि निको भएर जान्छ । तर, भित्र–भित्रै रोग लुकाइबसेको खण्डमा त्यसले नराम्रो नतिजा ल्याउन सक्छ । हेर्दा बाहिर राम्रो देखिने व्यक्ति पनि भित्र–भित्र मानसिक रोगले ग्रस्त भइरहेको हुन सक्छ ।
नेपालमा कुल जनसंख्याको १० देखि ३० प्रतिशतमा मानसिक रोग भएको बताइन्छ । यसमध्ये ९९ प्रतिशत डिप्रेसन हो भने १ प्रतिशत मात्रै पागलपन हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक रोग अर्थात् डिप्रेसनबाट १४–१९ वर्षका उमेरका झन्डै ५० प्रतिशत बढी किशोर–किशोरी पीडित भएका छन् । परिवार तथा अभिभावकले किशोर–किशोरीले गर्ने अस्वाभाविक गतिविधिलाई तन्नेरी उमेरको अवस्था भनेर सोच्दा कहिलेकाहीँ बिग्रन जान्छ ।
डिप्रेसनका कारण
डिप्रेसन बायोलोजिकल (जैविक), साइकोलोजिकल (मनोवैज्ञानिक) र सोसियल (सामाजिक) गरी तीन प्रकारले हुने गरेको छ । बायोलोजिकल भन्नाले वंशाणुगत अर्थात् बुबाआमालाई भएको छ भने छोराछोरी वा तिनका पछिल्ला पुस्तामा देखिने समस्या हो ।
साइकोलोजिकल भनेको सोचाइले हुने समस्या हो । जस्तै, यदि कुनै व्यक्तिले सानै उमेरमा बुबाआमा गुमाएको छ भने वा बुबा वा आमा वा कुनै आफन्तले पिट्ने गर्थे भने वा आमा वा बुबा जँड्याहा थिए भने वा बच्चाले सोचेजस्तो बुबाआमाको माया पाएन भने पनि उसलाई साइकोलोजिकल प्रोब्लम हुन्छ । परिणामत: ऊ मानसिक समस्या अर्थात् डिप्रेसनमा फस्दै जान्छ ।
सोसियल कारण भनेको सामाजिक गतिविधिका कारण तनाव बढेको अवस्था हो । महिलामा श्रीमान्ले पर्याप्त नकमाएका कारण समाजमा सानो भएँ भन्ने सोच, पुरुषलाई पैसा कमाइएन र समाजलाई देखाउन सकिनँ भन्ने सोच, केटाकेटीलाई पढाइको प्रेसर, युवालाई रोजगार तथा आम्दानी बढाउने प्रेसरजस्ता कारणले डिप्रेसन उत्पन्न हुन सक्छ ।
यस्ता तनावको समयमै व्यवस्थापन हुन सकेन भने कतिपयले आत्महत्याको बाटो रोज्छन् । डिप्रेसनमा फसेको व्यक्तिले समयमै आफूलाई डिप्रेसन छ भन्ने चाल पाएन, सही चिकित्सकको सल्लाह पाएन र त्यसको उपचार हुन सकेन भने उसले आत्महत्याजस्तो भयावह अवस्था निम्त्याउन सक्छ । डिप्रेसन अति कडा अर्थात् सिभिअर भयो भने त्यसले आत्महत्याको अवस्था निम्त्याउन सक्छ । सिभिअर अवस्थामा पुगेको व्यक्तिलाई निद्रा नलाग्ने, खान नरुच्ने, दुब्लाउँदै जाने, कुनै कुरामा मन नलाग्ने, अरूसँग बोल्न मन नलाग्ने हुँदै जान्छ । अन्तत: उसले आफूलाई परिवार र समाजको बोझ ठान्ने अवस्थामा पुगेर अन्त्यमा ज्यानसमेत फाल्न बेर लगाउँदैन ।
कसले बढी गर्छ आत्महत्या ?
विभिन्न अध्ययनले के देखाउँछ भने सबैभन्दा बढी आत्महत्या गर्न खोज्ने महिला हुन्छन्, तर आत्महत्या गरेर ज्यान गुमाउनेचाहिँ बढी पुरुष हुन्छन् । अनुसन्धानले के पनि देखाएको छ भने मानसिक रोग पुरुषको तुलनामा महिलामा दोब्बर हुन्छ । त्यही आधारमा केटीहरूले आत्महत्याको प्रयास बढी गर्छन्, तर मर्दैनन् । किनकि, महिलाले गर्ने आत्महत्याको तरिका पुरुषको तुलनामा कमजोर हुन्छ ।
महिलाले कमजोर औषधिको गोली खाएर वा सलको पासो लगाएर जस्ता तकिारले आत्महत्या प्रयास गर्छन् । त्यसैगरी कैयौँ महिलाले हातको नसा काट्न खोज्छन्, जसले ज्यान नजान पनि सक्छ । त्यसैले केटीहरूको अधिकांश प्रयास फेल हुन्छ । उनीहरू बच्छन् । तर, पुरुषहरू कि प्रयास नै गर्दैनन्, कि गरेपछि बलियो तरिका अपनाउँछन् । पुरुषहरू गोली हान्ने, भीर वा अग्लो ठाउँबाट हाम फाल्ने, चच्कु प्रयोग गर्नेजस्ता तरिका अपनाउँछन् । परिणामत: धेरैजसो पुरुषलाई बचाउन सकिँदैन ।
कस्ता व्यक्तिमा बढी हुन्छ ?
मानसिक रोगले गरिब र धनी भनेर भेदभाव गर्दैन । दुवै वर्गका व्यक्तिहरूलाई यसले उत्तिकै गाँजेको छ । यो रोग गरिबलाई पनि हुन्छ, धनीलाई पनि हुन्छ । गाउँघरमा अन्य तरिकाका अतिरिक्त खेतीपाती गर्नेहरूले आत्महत्या गर्न किटनाशक औषधिको प्रयोग गर्ने गरेको पाइन्छ । तराईमा हरेक दिन ४–५ वटा केस विष खाएर आएको पाइन्छ । पछिल्लो समय बजारमा चाहिनेभन्दा बढी लागुऔषधको सेवन गर्ने, हात तथा घाँटीको नसा काट्ने गरेर पनि आत्महत्या गर्ने गरेका छन् ।
आत्महत्या बढ्दो क्रममा छ । गाउँमा खान–लाउनकै समस्याका कारण पनि यस्तो हुन्छ । सहरमा व्यस्त जीवनशैली, मपाईंत्व देखाउने होड, कमाइको प्रतिस्पर्धा, बाबुआमा र छोराछोरीबीचको दूरी आदि पनि हुने गरेको देखिन्छ । त्यसका अतिरिक्त कामको प्रेसर, परिवारका सदस्यबीचको मनमुटाब, प्रेम तथा विवाहपछिको समस्या आदिका कारण पनि आत्महत्याका घटना हुन्छन् ।
किन फाल्छन् ज्यान ?
अति कडा अर्थात् सिभिअर डिप्रेसन भएको व्यक्तिले समाधानको अरू उपाय नै देख्दैन । उसको नजरमा जे पनि नकारात्मक मात्र, प्रतिकूल मात्र हुन्छ । जेलाई पनि अप्ठ्यारो देख्ने, सोच्ने हुँदै जान्छ । केही प्रगति गर्न सकिएन, भविष्यमा पनि सकिँदैन, आफ्नै मान्छे पनि मेरो सपोर्टमा छैनन् आदि सोचिरहन्छ । अर्थात् उसको आत्मविश्वास बिस्तारै हराएर जान्छ । अन्तत: ऊ प्राण त्याग्ने निष्कर्षमा पुग्छ । प्राणत्याग मात्र समस्याको समाधान देख्छ । तर, अति कडा डिप्रेसनको पनि उपचार सम्भव छ । तर, कतिपयले उपचार नगरेर दिमाग नै असन्तुलन बनाएको देखिन्छ । कोही आत्मविश्वास शून्यमा पुर्याएर आत्महत्याको बाटोतिर लाग्छन् ।
आत्महत्या वा डिप्रेसनको सन्दर्भमा बुझ्नुपर्ने के छ भने कतिपय व्यक्ति बाहिरबाट ठीक देखिए पनि भित्र–भित्रै डिप्रेसनका कारण जलिरहेका हुन्छन् । मानसिक रोग र पागलपनलाई छोडेर एन्जाइटी र डिप्रेसनका बिरामी बाहिरबाट हेर्दा नर्मल हुन्छन् । दैनिक आफ्नो काम, कर्तव्य र उत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् । तर, भित्रबाट उसको पीडा उसलाई मात्र थाहा हुन्छ । बाहिरबाट हामीले किन टेन्सल लिइराख्या भन्छौँ, तर ऊ भित्र–भित्र जलिरहेको हुन सक्छ । टेन्सन नलेऊ, सकारात्मक सोच बनाऊ भन्न अति सजिलो छ, तर डिप्रेसनमा परिसकेको व्यक्तिले सही काउन्सिलिङ र उपचार पाएन भने चाहेर पनि उसले नकारात्मक सोच त्याग्न सक्दैन ।
आत्महत्याका प्रकार
आत्महत्या पनि दुई प्रकारको हुन्छ । एउटा इम्पोल्सिभ र अर्को ननइम्पोल्सिभ । इम्पोल्सिभ भनेको रिसको आवेगमा आएर गर्ने आत्महत्या हो । जस्तै, श्रीमान्–श्रीमतीबीच झगडा पर्यो । आवेगमा आएर श्रीमतीले म मर्दिन्छु भनिन् र सल लिएर अर्कै कोठा गई आत्महत्या गरिन् भने त्यस्तोलाई इम्पोल्सिभ भनिन्छ । अर्थात् तत्कालको रिसलाई कन्ट्रोल गर्न नसक्दा क्षणभरमै ज्यान फाल्नु हो । रिसको आवेगमा गर्न खोजिने आत्महत्या गम्भीर हुँदैन । रिसको आवेगमा चिच्याएर वा धम्की दिएर गरेका हुन्छन् । त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।
ननइम्पोल्सिभ भनेकोचाहिँ योजनाबद्ध आत्महत्या हो । त्यसैले यो डरलाग्दो हुन्छ । आत्महत्या गर्नेले पहिल्यैदेखि योजना बनाएको हुन्छ । जस्तै, आत्महत्याका लागि उपयुक्त वातावरण खोज्छ, कोठाको चुकुल लगाउँछ, सुसाइट नोट लेख्न सक्छ । अर्थात् कुनै पनि हालतमा नबाँचियोस् भनेर ऊ योजना गरेर बसेको हुन्छ । त्यसैले यस्तो केसमा बचाउन गाह्रो हुन्छ । केटा मान्छेहरूले बढी ननइम्पोल्सिभ रोज्ने गरेका हुन्छन् ।
रोकथाम गर्न सकिन्छ
आत्महत्या रोकथाम गर्न सकिने समस्या हो । किनभने, आत्महत्या गर्नुअघि उसलाई डिप्रेसन भएकै हुन्छ । तपाईंका आफन्त वा मित्रलाई निदाउन धेरै गाह्रो छ, टाउको दुखिरहन्छ, एकान्तमा बस्छ, मान्छेहरूसँग धेरै बोल्दैन, विनाकारण झर्कन्छ वा रिसाउँछ, खाना रुच्दैन, पहिला जति पनि गफ गथ्र्याे भने उसलाई डिप्रेसन भएको हुन सक्छ । यस्ता लक्षण देखिएमा समयमै मनोचिकित्सककोमा लैजानुपर्छ । डिप्रेसनको समस्याका छुट्टै शारीरिक चिह्न हुन्नन् । उसका गतिविधि हेरेरै उसमा डिप्रेसन छ कि छैन भनेर बुझ्नुपर्छ । यस्तो समस्या भएका बिरामीलाई सुरुमै ल्याइयो भने औषधि पनि खानुपर्दैन । काउन्सिलिङबाटै समस्या समाधान हुन्छ ।
मानसिक रोगीहरूको मनोचिकित्सकसँग खुल्ने, तर घरका सदस्यसँग कुरा लुकाउने प्रवृत्ति हुन्छ । उनीहरू मलाई केही भएको छैन भन्छन् । मानसिक समस्या भएकाले पनि थोरै सचेतना अपनाउने हो भने चिकित्सककहाँ जानैपर्दैन । आफ्नो बह पोख्ने साथीभाइ छ भने उसँग सेयर गर्न सकेमा, श्रीमान्–श्रीमतीले एक–अर्काका मनका कुरा सेयर गर्ने गरेमा, एक–अर्काले राम्ररी सम्झाउन सकेमा डाक्टरको जरुरी पर्दैन । यो त्यत्तिकै निको भएर जान्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्