मोटरसाइकल बोलाउन टुटल एप्स
बुधबार, १४ असार २०७४

०७२ सालमा नेपालमा नाकाबन्दी भइरहँदा दुईपांग्रेमार्फत लिफ्ट दिने प्रचलन सुरु भयो । यस्तो प्रचलनले धेरै व्यक्तिलाई सहज यात्रा तथा सुविधा प्राप्त भयो । यही समयमा दुईपांग्रे सवारीचालकले पछाडि खाली रहेको सिटलाई उपयोग गर्ने उद्देश्यका साथ सुरु भयो, टुटल एप्लिकेसन । मोबाइल एप्लिकेसन टुटलमार्फत जोकोहीले पनि आफूलाई आवश्यक मोटरसाइकल/स्कुटर बुकिङ गर्न सक्छ । काठमाडौंको रिङरोडभित्र कुनै पनि स्थानमा जान एप्समार्फत आफ्नो गन्तव्य जानकारी दिन्छ ।
सोही जानकारीअनुसार अर्को मोटरसाइकल हुने व्यक्तिले सो व्यक्तिलाई ड्रप गर्न सक्छ । यसरी ड्रप गरेबापत सो चालकले केही आम्दानी पनि गर्न सक्छन् । त्यस्तै, यात्रु पनि सार्वजनिक सवारीको कष्ट, ढिलाइ तथा ट्राफिक जामको समस्या नभोगीनकन सहजै गन्तव्यमा पुग्न सक्छन् । पछिल्लो समय काठमाडौंमा धेरैले रुचाएको यो सेवा प्राप्त गर्ने टुटल २० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । अहिले यही सेवामार्फत दैनिक ६० देखि ७० वटा दुईपांग्रे राइड भइरहेको हुन्छ ।
यात्रुले कसरी प्रयोग गर्न सक्छन् ?
टुटल सर्भिस प्राप्त गर्न आफ्नो मोबाइलअनुसार Tuutle एप प्लेस्टोर या एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । एप्लिकेसन डाउनलोड भएपछि आफ्नो नाम तथा फोन नम्बर रजिस्टर गर्नुपर्ने हुन्छ । यति भएपछि टुटलमा जोकोही व्यक्ति पनि टुटल सर्भिस पाउन योग्य हुन्छ । रजिस्टर भएपछि एप्लिकेसनमा रहेको सामान्य प्रक्रियाबाट नै दुईपांग्रे सवारी माग गर्न सकिन्छ । टुटल एपमा काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थान र सडकको म्याप पनि राखिएको छ । आफ्नो आवश्यकताअनुसार म्यापमा हेरेर कुन स्थानका लागि सवारी चाहिने एप्लिकेसनमा माग गर्न सकिन्छ । सोहीअनुसार एप्लिकेसनले नै गन्तव्य कति टाढा छ र सोहीअनुसार शुल्क पनि कति लाग्छ जानकारी प्रदान गर्छ । सामान्य अवस्थामा उपत्यकाभित्र दुईपांग्रेमा यात्रा गर्दा तीन किलोमिटरसम्म ६० रुपैयाँ पर्छ भने सोभन्दा बढी यात्रा गर्दा प्रतिकिलोमिटर १८ रुपैयाँका दरले शुल्क लाग्छ । महिला यात्रुले आफ्नो सहजताका लागि महिला नै चालक भएको सवारी पनि माग गर्न सक्छन् ।
चालकले कसरी फाइदा पाउँछ ?
दुईपांग्रे सवारीचालकले आफ्नो सवारी चलाउँदै गर्दा पछाडि रहेको खाली स्थानबाट आम्दानी गर्ने उपयुक्त विकल्प हुन सक्छ, टुटल । त्यसका लागि चालकहरूले आफ्नो मोबाइलमा टुटल पार्टनर्स एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप्लिेकसन भने गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ । यसरी डाउनलोड गरेको एपमा यात्रुले तत्काल गरिरहेको दुईपांग्रे सवारीको माग देख्न सकिन्छ । सोहीअनुसार आफू जाने गन्तव्य या बाटोबाट यात्रुलाई पिकअप गर्दै आम्दानी पनि गर्न सकिन्छ । त्यसो त फुर्सद र सवारीसाधन भएकाहरूले यही एप्लिकेसनमार्फत नै दिनभरि सेवा प्रदान गरेर आम्दानी गर्न सक्छन् ।
एप्लिकेसनमार्फत चालकले सेवा प्रदान गर्दा आम्दानीको ८० प्रतिशत चालकलाई हुन्छ भने २० प्रतिशत टुटलले प्राप्त गर्छ । टुटलको सेवा प्राप्त गर्न यात्रुले पनि टुटल ब्यालेन्समा केही रकम ब्यालेन्स राख्नुपर्ने हुन्छ । यात्रुले प्राप्त गरेको सेवाअनुसार स्वतः सोही ब्यालेन्सबाट रकम घट्दै जान्छ । यसरी यात्रुको ब्यालेन्स घट्दै गर्दा चालकको ब्यालेन्स सोहीअनुसार बढ्छ । टुटल ब्यालेन्समा प्रत्येक चालक र यात्रुको छुट्टाछुट्टै एकाउन्ट हुन्छ । ब्यालेन्स सकिएपछि ईसेवाजस्ता एप्लिकेसनमार्फत ब्यालेन्स बढाउन सकिन्छ ।
हरेक राइड सुरक्षित
टुटल एप्लिकेसनमार्फत दुईपांग्र्रे सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म अहिले यात्रुहरूले प्राप्त गरिरहेका छन् । चालक र यात्रुको सुरक्षालाई ध्यानमा राखेर सम्पूर्ण राइड ट्र्याक गरिन्छ । जसले गर्दा प्रत्येक राइड कहाँ, कुन समयमा गइरहेको छ, सजिलै जानकारी प्राप्त हुन्छ । विशेष कोडमार्फत यात्रुका आफन्तले पनि यस्तो ट्र्याकिङ गरेर चालकको वास्तविक अवस्था थाहा पाउन सक्छन् । यस्तो जानकारी मोबाइल डाटामार्फत कम्पनीले ट्र्याक गरिरहेको हुन्छ । त्यस्तै, प्रत्येक चालकको लाइसेन्स र थप जानकारी टुटलमा आएको हुन्छ । यही सुरक्षित यात्राका कारण धेरै दृष्टिविहीन यात्रुहरूले टुटल राइडमार्फत सहज यात्रा गरिरहेका छन् ।
Source: Enayapatrika
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्