भान्सा सफा र स्वस्थ राख्न...
बुधबार, २४ जेठ २०७४

फोहोर भान्सामा झिँगा, साँलाजस्ता किरा निक्कै रमाउँछन् । यिनैबाट विभिन्न रोग संक्रमण हुनेगर्छ । त्यसैले भान्सामा प्रयोग हुने भाँडाकुँडा र अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ । खाना बनाइसकेपछि चुलो र खाना खाएपछि जुठा भाँडा सफा गर्न अल्छी गर्नै हुँदैन ।
भान्सा हाइजेनिक बनाउन थप यी काम गर्नुहोस् :
भान्सामा धेरै प्रयोग गरिने चक्कु हरेकपटक पखाल्नुपर्छ । दिनभर प्रयोग गरिने चक्कु बेलुकाको अन्तिम प्रयोगपछि तातो साबुनपानीको झोलले सफा गर्नुपर्छ । यसो गर्दा चक्कु सफा मात्रै हुँदैन, चक्कुमा टाँसिएका कीटाणुहरू पनि नष्ट हुन्छन् ।
मासुजन्य पदार्थ काट्दा कटिङबोर्डमा कीटाणु बढी फैलिन्छन् । यसकारण कटिङबोर्ड प्रयोग गरिसकेपछि हाइड्रोजन प्याराअक्साइड प्रयोग गरी सफा गर्न सकिन्छ । परिवारका सदस्य कोही मांसाहारी र कोही शाकाहारी भएमा दुईवटा कटिङबोर्ड राख्नु उत्तम हुन्छ ।
भान्सा कोठाको भुइँ पनि सफा राख्नुपर्छ । फोहोर भुइँमा भन्किएका झिँगा र अन्य किरा आएर बस्ने तथा फोहोर गर्ने गर्छन् । भान्सा नै फोहोर छ भने भान्सामा प्रयोग हुने सामग्री सफा गर्नुको कुनै अर्थ हुँदैन । त्यसैले सफा कपडालाई पानी र डिटरजेन्ट पाउडरको घोलमा चोबलेर भुइँ सफा गर्नुपर्छ । भुइँ कीटाणुरहित हुन्छ ।
भान्सामा प्रयोग हुने कराइ तथा डेक्चीलाई सधैँ ढाकेर राख्नुपर्छ । ढाकेर राख्दा लामखुट्टे, झिँगा वा अन्य किरा तथा फोहोर खस्न पाउँदैन ।
भान्सामा पाकेको परिकार धेरै बेरसम्म राख्दा बिग्रिँदै जान्छ । फ्रिजमा राख्ने र पटक–पटक तताइराख्नु पनि स्वास्थ्यका लागि हानिकार हुन्छ । खानाको स्वादमा समेत परिवर्तन आउँछ । धेरै खाना बनाएर बासी राख्नु राम्रो होइन ।
डस्टबिनवरिपरि सोडा
उब्रिएको तथा बिग्रिएको खाना भान्साकै एक कुनामा डस्टबिनमा राख्ने चलन धेरैको हुन्छ । डस्टबिन सकेसम्म कोठाबाहिर घरको कम्पाउन्डमा कतै व्यवस्थित गर्नु राम्रो हुन्छ । तर, सबैका लागि यो सम्भव नहुन पनि सक्छ । त्यसैले फोहोर राखिएको डस्टबिनबाट नराम्रो गन्ध आउने र कीटाणु फैलिने भएकाले डस्टबिनमा बेकिङ सोडा छर्कनु उपयुक्त हुन्छ । डस्टबिनवरिपरि बेकिङ सोडा छर्किंदा कीटाणु नाश हुने र गन्ध फैलिन छाड्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्