एन्टी रेबिज भ्याक्सिनमा कोटा तोकेपछि बिरामीलाई समस्या

बुधबार, २४ जेठ २०७४

 

रुपन्देही– लुम्बिनी अञ्चल अस्पताल बुटबलमा एन्टी रेबिज भ्याक्सिन लगाउन दैनिक १० देखि १५ जना बिरामी आउने गरेका छन्। कुकुर, स्याल, बिरालो जस्ता जनावरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ। तर, एन्टी रेबिज भ्याक्सिनको वितरणमा कोटा प्रणाली लागू भएपछि बिरामीलाई समस्या पर्दै गएको अस्पतालले जनाएको छ।

 

अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार दैनिक १० देखि १५ जनासम्म नयाँ बिरामीलाई भ्याक्सिन लगाउन मासिक करिब दुई हजार भायल एन्टी रेबिज भ्याक्सिन आवश्यक पर्छ। कोटा प्रणाली अनुसार मागअनुरुप भ्याक्सिन नआउँदा बिरामीलाई समस्या पर्न थालेको उनको भनाइ छ।

 

२०७२ सालमा अस्पतालमा तीन हजार ९ सय ४८ जना सेवाग्राहीले एन्टी रेबिज भ्याक्सिन लगाएका थिए भने २०७३ सालमा तीन हजार दुई सय १२ जनाले भ्याक्सिन लगाएका थिए।

 

अनियमित र अपर्याप्त भ्याक्सिनको आपूर्तिका कारण अस्पताललाई आउनेजति बिरामीलाई सेवा दिन हम्मेहम्मे परेको रेग्मीले जनाए। भ्याक्सिनको आपूर्ति नियमित नहुने हो र आवश्यकता अनुरुप उपलव्ध नहुने हो भने गरिब जनता महँगोमा भ्याक्सिन किन्न वाध्य हुनुपर्ने उनले जनाए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको