गंगालाल अस्पतालको शैयाबाट यमराजसँग सुर्ती संवाद!

बुधबार, १७ जेठ २०७४

 

कुरा २०६४ असोज महिनाको हो। मेरो जन्म दिनको अवसर पारेर सप्ताह प्रवचन गर्ने कार्यक्रम थियो। अचानक बेहोस भएँ। बेहोसीको अवस्था सपना जस्तो लाग्छ। यमराजले युधिष्ठिरलाई प्रश्न गरेझैँ ममाथि प्रश्न बर्साए। जाने–बुझेसम्म उत्तर दिएँ। '

 

यमराजः तिमी पापी हौ, अधर्मी हौ। तिमीलाई लिन आएको हुँ। 

 

मः होइन प्रभु, मैले पाप गरेको छैन। म अधर्मी पनि होइन। मैले व्यक्तिगत स्वार्थका लागि काम गरेको छैन। घर, परिवार, छरछिमेक, राष्ट्रको उन्नति, विकासका लागि तल्लिन रहेँ। स्कुल खोल्न, स्तरवृद्धि गर्न सक्नेजति प्रयास गरेँ। खानेपानी, सिँचाइ, मन्दिर, पाटी–पौवा, बाटोघाटो बनाउन निस्वार्थ लागिपरेँ। यो सबै पाप हो त? अधर्म हो र यमराज? 

यमराजः तिम्रा कुरा सब बकवास हुन्। तिमीले आफूलाई त सुमार्गमा लैजान सकेको देखिएन। परिवार, छिमेक, समुदायलाई यो गरेँ, ऊ गरेँ भन्नु बेतुक होइन र? तिमी समाजका अगुवा हुँ भन्छौ, तर तिमी आफ्नै पथप्रदर्शक हुन सकेनौ। जानाजान मन्दविष रुपी सुर्तीजन्य पदार्थ सेवन गर्‍यौ। यसैको कसुर बापत तिमीलाई लिन दूतसहित म आएको हुँ। 

 

मः प्रभु मबाट गल्ती भएकै हो। घरमा ठूलाबुबा, बुबा तम्वाखुको अम्मली हुनुहन्थ्यो। तम्वाखुमा गोल हाल्न, सल्काउन मलाई तान्–तान् भनेर अर्‍हाउनु हुन्थ्यो। मान्यजनको आदेश पालना गर्नै पर्‍यो। पाँच वर्षको उमेरमै बिहे भयो। अनि कलिलै उमेरमा सुर्तीजन्य पदार्थ पनि सेवन गरियो। आफ्ना बुबाजस्ता मान्यजनको आदेशबाट तम्माखु टुर्रटुर्र तान्न थालियो। मान्यजनले तम्माखु तानेको देख्दा ठूलो मानिस हुन हुक्का तान्नुपर्ने रहेछ भन्ने भ्रम भयो महाराज। 

 

गाउँमा सुर्ती, तम्माखु, बिँडी नखाने घरै थिएनन्। घरमा पनि सबै सदस्यहरु लतमा फसिसकेका थिए। जानाजान मबाट गल्ती भएको होइन। त्यसबेलाको परिस्थिति, वातावरणको उपज हो, महाराज। नजानी गरिएको कसुरको सजाय नपाऊँ। 

 

यमराजः मन्दविष रुपी सुर्तीजन्य पदार्थ सेवनबाट फाइदा महसुस गर्‍यौ र निरन्तर खाइरह्यौ। सुरुमा मान्यजनको देखासिखी गरी बानी परे पनि तिमीले बीचमा छाड्न सक्थ्यौँ। अरुलाई दोष देखाएर पानीमाथिको ओभानो बन्ने प्रयत्न नगर। तिमी अब यो पृथ्वीमा रहन लायक छैनौ। ल केटा हो, लिएर हिँड।

 

मः महाराज मेरो बिन्ती लागोस्, म आफ्ना कथा, व्यथा सुनाउँछु, त्यति सुनिदिनुहोस्। पछि जे गर्न मन लाग्छ, हजुरकै मर्जी। 

 

यमराजः ल भन त। 

म : प्रभु सुर्ती सेवन पश्चात रिँगटा लाग्थ्यो। ओठ, मुख सुख्खा हुन्थ्यो। आनन्दको अनुभव हुन्थ्यो। कत्तिले जाडो हटाउँछ, चिन्ता घट्छ भन्थे, तर मैले त्यस्तो महसुस गरिनँ। बिहान जुरुक्क उठ्यो खायो। खान पनि एक चिज मात्र हो र महाराज! तमाखु, चुरोट, बिडी, सुर्ती सबै प्रकारका अम्मल सुरु गरियो। यसको सेवनले म ठूलो हुँ भन्ने भान हुन्थ्यो। ठूलाबडा, राजा, भारदार, शिक्षक, डाक्टर, नेता सबैले सेवन गर्थे। विपी कोइराला मेरा प्रेरणाका स्रोत हुन्, उनी पनि अम्मली देख्दा ठूलो हुन सेवन गर्नुपर्छ भन्ने लाग्थ्यो। 

 

मैले जानाजान कसुर गरेको छैन। त्यसैले श्रीमान् मेरो घरमा श्रीमद्भागवत सप्ताहको कार्यक्रम छ, मलाई छाडिदिनुहोस्। सद्विचार सम्प्रेषण गर्ने मौका पाऊँ, प्रभु। म पनि त्यस्तो अम्मली त कहाँ हो र प्रभु! सुर्ती मुखमा हाल्दा मुख पूरा कोक्यायो र खानै छाडेँ। साथीभाईको लहैलहैमा गाँजा खाएको थिएँ। खुबै लाग्यो, पागलझैँ भएँ र गाँजा खान बन्द गरेँ। जेबाट मलाई खराब भएको महसुस गरेँ त्यो छाडेँ तर चुरोट, बिँडी, तमाखुले त त्यस्तो...

 

यमराजः सुन, मनुवा अहिले विश्वमा प्रतिवर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थको सेवनबाट हुने खराबीका कारण मरिरहेका छन्। प्रतिदिन १६ हजार चार सय ३८ जना मानिसलाई यमलोकमा लिएर जान हामीलाई धौधौ परिरहेको छ। प्रत्येक घन्टामा ६ सय ८५ जनाको मृत्यु हुन्छ। प्रत्येक मिनेटमा ११ जनालाई यमलोक लिएर जानु चानचुने कुरा हो र?

 

सर्वश्रेष्ठ प्राणीहरुको यो अकाल मृत्यु हाम्रो कारणले होइन। सुन ‘न शोक हट्छ, यसले न त पेट भर्छ, अमृत होइन' सुर्ती सेवन किन गर्नुहुन्न? भन्ने जान्दाजान्दै सेवन गर्ने तिमीजस्ता मानिस अपराधी हौ। अपराध गरेबापत सजाय त तिमीले भोग्नै पर्छ। यही हिसाबबाट सुर्तीजन्य पदार्थ सेवन भइरहे र प्रभावकारी ढंगले रोकथाम हुन नसके १३ वर्षपछि प्रतिवर्ष ८० लाख मानिसको मृत्यु हुने निश्चित छ। त्यसैले भावी पिँढीलाई शिक्षाका रुपमा समेत तिमीहरु जस्तालाई लैजानु नै श्रेयस्कर छ। 

 

यो मृत्यूको कुरा बाहेक दीर्घ श्वासप्रश्वास, मुटुरोग, क्यान्सरजस्ता रोग लाग्न गई पारिवारिक, सामाजिक, आर्थिक पक्षबाट समेत मानिस पीडित हुन्छन्। खर्च बढ्छ, उत्पादकत्व घट्छ। त्यसैले तिमीहरु जस्तालाई सबक सिकाउन आवश्यक छ। तिमीले गरेको सेवनले तिमीलाई मात्र हानी गर्दैन, बरु तिम्रा घरपरिवार, छिमेक, साथीभाई जसको वरिपरि बसेर धूमपान गर्छौं उनीहरुलाई पनि असर गर्छ। 

 

सुर्तीजन्य पदार्थ सेवन नगर्ने तर तिमीहरुजस्ताले उनीहरुको अगाडि गरेको धूमपानका कारण प्रतिवर्ष ६ लाख मानिसको ज्यान जाने गरेको छ। के तिमीहरु अपराधी होइन, भन्न सक्छौ? हरेक दिन एक हजार ६ सय ४४ जनाको मृत्यु अरुले खाएको चुरोट, बिँडीका कारण भइरहेको छ। केवल तिमीहरुको कारणले। सार्वजनिक स्थलमा धूमपान गर्नु हुन्न भन्ने थाहा हुदाँहुदै आफ्ना प्रिय छोराछोरी, भाइबहिनी, श्रीमतीलाई मृत्यु र रोग उन्मुख गराउने तिमी सजायका भागिदार होइनौ र? 

 

मः महाराज! म हजुरको कुरासँग सहमत छु। तर पनि घर/परिवार, समाज, राष्ट्रमा अधिकांशले प्रयोग  गरिरहेकै छन्। राष्ट्रले करबाट आम्दानी गरेकै छ। नुन, सियो बनाउने कारखाना नभए पनि चुरोट–बिँडी कारखाना खुलेकै छन्, चलेकै छन्। औषधि नपाइने ठाउँमा पनि चुरोट–बिडी–सुर्ती पुगेकै छन्। राज्यका तर्फबाट सुर्तीजन्य पदार्थको खराबीबारे उतिधेरै चेतनामूलक कार्यक्रम भएको थाहा छैन। मैले सुर्ती–चुरोटको खराबीबारे जानकारी नपाउन्जेल खाएँ, पाउनेबित्तिकै छोडेँ महाराज ! 


एक दिन जजमान कहाँ गएर घर फर्कन साह्रै गाह्रो भयो। डाक्टरकहाँ जाचँ गराइयो। ‘चुरोट–सुर्ती सेवन गर्नु हुँदो रहेछ, यसैले तपाईंको स्वास्थ्यमा गडबडी आयो, अब छोड्नुपर्छ’ भनेर डाक्टरले सुझाए अनि एक झोला औषधि लेखिदिए। तीन महिनै अगाडिको कुरा त हो मैले अम्मली चट्टै छोडेको। डाक्टरले भन्नासाथ मैले अठोट लिएँ, अब छुँदा पनि छुन्न भनेर। 

 

महाराज! अहिले मलाई महसुस भइरहेको छ कि मैले अन्जानमा मन्दविषमा ठूलो लगानी गरेछु। ५ वर्षको उमेरमा सुरु गरेको थिएँ, १० वर्षको उमेरसम्म खासै खर्च भएन। घरमा बुबा, ठूलाबुबाको तमाखुबाट काम चलाइयो। तर त्यसपछि ५३ वर्षसम्म मैले फूलमार, सिंहमार, मोडलमार, याक, सूर्य जस्ता परिपरि ब्रान्डका चुरोट सेवन गरेँ। खैनी र बिँडी पनि उत्तिकै खान थालेँ। धेरैपछि बुद्धि आयो, तर शरीरमा निकै गडबडी भइसकेको रहेछ। अचेल कहिले झोल, कहिले ट्याबलेट औषधि खाइरहेको छु।

 

यमराजः नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन बनेको छ, नियमावली छ। गृह मन्त्रालयले खबरदारी गरिरहेको छ। सुर्तीजन्य पादर्थको बट्टा/खोलहरुमा ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर लेखिएको छ। सेवनबाट लाग्ने रोगहरुको चित्र अंकित गरिएको छ। सार्वजनिक स्थलमा नखान भनेको छ। यति हुँदाहुँदै सेवन गर्नेलाई कारबाही नगरी हुँदैन। तिमीले जति बहाना बनाए पनि माफी पाउन सक्दैनौँ। 

 

मः नियम, कानुनभन्दा अठोट ठूलो कुरा रहेछ। खराबी हुने कुरा आफूले अनुभव गरिनँ तर जब डाक्टरले सल्लाह दिए तब अनुशरण गरेँ। चट्टै छोडेँ। अब त माफी पाऊँ महाराज! एकपटक सबैले माफी पाउँछन्। बरु, म आफन्त, छरछिमेक सबैलाई सुर्तीजन्य पदार्थको हानीबारे जानकारी गराउनेतिर लाग्छु।

 

यमराजः आफ्नै प्रयासले रोकथाम गर्न सकिने नसर्ने खालका रोगहरु (जस्तैः क्यान्सर, मुटुरोग, मस्तिष्कघात, मधुमेह, मिर्गौलाका समस्या आदि) बाट बच्न व्यक्ति–व्यक्तिको संकल्प चाहिएको छ, तिमीले त्यो संकल्प पूरा गर्छु भनेकाले मैले एकपटकलाई माफी गरिदिन्छु। तिमीलाई सफलता मिलोस्। हामी जान्छौँ। 

 

यमराज र उनका दूत हिँडे, म झल्यास्सँ बुउँझिएँ। बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा रहेछु।

 

मेरो भाग्य बलियो रहेछ मुटुको शल्यक्रिया सफल भयो। तर, मुटुसम्बन्धी ६ प्रकारका औषधिका लागि मासिक चार हजार रुपैयाँ खर्च गरिरहेको छु। मुटुको शल्यक्रिया पश्चात मधुमेह भयो, मासिक सात हजार रुपैयाँ खर्च थपियो। मैले सुर्ती–चुरोटमा खुब पैसा उडाएँ, अहिले औषधिमा उडाइरहेको छु। 

 

अहिलेका स्वास्थ्यमन्त्री गगन थापा बडो बुज्रुक रहेछन्। नयाँ वर्ष २०७४ को पहिलो बिहानीमा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्दै ‘मेरो वर्ष’ अभियान सुरु गरे। हेर्नोस् त त्यसका पाँच प्रतिबद्धता कति काम लाग्दा छन्। 

 

—    म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न । 

—    म नियमित व्यायाम गर्छु । 

—    म स्वस्थ्य र पोषिलो खाना खान्छु ।

—    म नियमित स्वास्थ्य परीक्षण गराउँछु ।

—    म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु । 

 

मैले पुनर्जीवन पाएको १० वर्ष भइसक्यो। म अझै यी प्रतिबद्धता धेरैलाई सुनाउँदै हिँड्ने तरखरमा छु। गंगालाल हृदय केन्द्रका डा. भगवान कोइरालाप्रति म आभारी छु। उहाँले मेरो मुटुको शल्यक्रिया गरेर मलाई बचाउनु भयो। वास्तवमा सुर्तीजन्य पदार्थ सेवन नगरी माथि उल्लेख गरिएका पाँच सन्देश हामीले पालना गर्न सके हाम्रो स्वास्थ्यको भगवान हामी आफैँ हुन सक्छौँ। 


प्रस्तुतिः रमेशप्रसाद अधिकारी (स्वास्थ्य मन्त्रालय)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको