साउदीमा रहेका अवैधानिक कामदारलाई सुनौलो अवसर, यस्ता व्यक्तिले लिन सक्छन् मौकाको फाइदा

बुधबार, ०६ बैशाख २०७४

काठमाडौं, बैशाख ६— साउदी अरेबिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई ल्याएको क्षमादान कार्यक्रममा सहभागी भए पुनः रोजगारीमा जान पाउने बताएको छ । साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै यस्तो जानकारी दिएको हो ।

 

दूतावासले सोमबार श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै साउदी अरब सरकारले क्षमादान कार्यक्रम ल्याएपछि हालसम्म गरिएका कार्यबारे सरकारलाई औपचारिक रूपमा जानकारी गराएको हो । साउदी सरकारले अलेखबद्ध वा अवैधानिक रूपमा रहेका नेपालीलगायत विदेशी कामदारलाई २९ मार्च २०१७ मा क्षमादान कार्यक्रमको घोषणा गर्दै ९० दिनको समय दिएको थियो ।

 

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले साउदी अरबमा अवैधानिक रूपमा बसिरहेका नेपाली कामदारले पुनः साउदी अरबमा काम गर्न जान पाउने एवं त्यसबापत कुनै जरिवानासमेत नलाग्ने गरी क्षमादान कार्यक्रम ल्याएकाले सो अवसरको सदुपयोग बढीभन्दा बढी नेपालीले गर्नुपर्ने बताए । सहसचिव निरौलाले साउदी अरबमा अवैधानिक रूपमा काम गरिरहेका नेपाली ५ देखि १० हजारको संख्यामा रहेको अनुमान रहेको बताए ।

 

सहसचिव निरौलाका अनुसार नेपाली महावाणिज्यदूतावासले अवैध रूपमा रहेका र साथमा राहदानी नभएका १ सय २० कामदारलाई ट्राभल डकुमेन्ट दिएर नेपाल फिर्ता गर्ने तयारी गरेको छ । दूतावासले भौगोलिक जेद्दाभन्दा ७ सय किमी टाढा रहेको जिजान प्रान्तमा समेत विभिन्न कामदारलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको जानकारी दिएको छ ।

 

श्रम तथा रोजगार मन्त्रालयका अनुसार भागेर रनअवे नोटिसमा परेकाहरू तथा रेसिडेन्सिएल परमिटको म्याद सकिएकाहरू, कम्पनीले रेसिडेन्सिएल परमिट नबनाएर दुःख पाइरहेकाहरू, हज, उम्राह तथा धार्मिक प्रायोजनमा साउदी गएर ओभरस्टे भएकाहरू वा भिसाविना वा भिजिट भिसामा कुवेतबाट साउदी प्रवेश गरेकाहरू सबैले सो क्षमादान कार्यक्रममा सहभागी भई सजिलैसँग स्वदेश फर्कन पाउनेछन् । यसको चाँजोपाँजो नेपाली कन्सुलेट जनरलले मिलाइरहेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका सहसचिव निरौलाका अनुसार क्षमादान प्रक्रियामा सहभागी भएर स्वदेश फर्कने कामदारहरू पुनः साउदी अरेबिया काम गर्न जान पाउनेछन् । यस प्रक्रियामा सहभागी हुने कुनै व्यक्तिले अवैधानिक भएकै कारण साउदी सरकारलाई तिर्नुपर्ने जरिवाना तिर्नुपर्दैन । साउदीमा अवैधानिक रूपमा बस्ने कामदारहरू खुलमखुला रूपमा बाहिर निस्कन नसक्ने हुँदा उनीहरूलाई जानकारी तथा सहभागी गराउन टेलिफोन एवं सामाजिक सञ्जाल र साउदी अरबमा क्रियाशील नेपाली समुदायसँग समेत कन्सुलेट जनरलबाट सहकार्य गरी सूचना प्रवाह गरिएको जनाइएको छ ।

 

कामदारलाई क्षमादान कार्यक्रममा सहभागी गराउन सूचना प्रवाह गर्न समस्या भएको र कन्सुलेटको सीमित जनशक्ति र कार्यक्षेत्र एक हजार किमिसम्मको हुँदा साधनस्रोतका कारण सेवा प्रवाह गर्नसमेत कठिनाइ भइरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसैगरी, कृषि फर्म, मरुभूमि, उँट तथा भेडा चराउने कामदार तथा बन्धक वनाएर घरेलु कामदारका रूपमा कार्यरत व्यक्तिहरू सूचनाको अभावमा क्षमादान लिने अवसरबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउन सक्ने स्थिति देखिएको कन्सुलेट जनरलले श्रम मन्त्रालयलाई अवगत गराएको छ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको