नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, स्वास्थ्यमन्त्रीको उपस्थितिमा जानकारी गराइँदै
बिहिबार, २३ मङि्सर २०७३

नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गर्दै अस्पतालले बिहीबार बिहान पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउँदैछ ।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा पत्रकार सम्मेलन गरेर प्रत्यारोपणबारे जानकारी गराइने छ । कलेजोको सफल प्रत्यारोपण भएकोमा मन्त्री थापाले खुसी व्यक्त गर्दै यो स्वास्थ्य क्षेत्रको लागि ठूलो फड्को भएको बताएका छन्। ट्वीटरमा मन्त्री थापाले दिएको जानकारी अनुसार वलराम नेगी नामक किशोरको कलेजो सफल प्रत्यारोपण भएको जनाएका छन्।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बिहान ११ः३० बजे पत्रकार सम्मेलन गरिने भएको छ । दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले बुधबार ८ घण्टा लगाएर एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । चार दशक उमेरकी एक महिलाले बिरामी भाइलाई कलेजो दिएपछि प्रत्यारोपण भएको हो ।
कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै गएर लाखौं रुपैयाँ खर्च गर्नुपर्ने वाध्यता छ । तर पहिलो पटक प्रत्यारोपण सफल भएपछि भने कलेजो रोगीले राहत पाउने पक्का छ । त्यस्तै नेपालमै प्रत्यारोपण गर्दा सस्तो पनि हुनेछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्