झापामा एकहजार १६५ जनामा हात्तीपाइले
मङ्गलबार, ०८ चैत २०७३
(झापा)- झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् ।
त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यसका लागि करिब १८ लाख ५० हजार डिइसी र आठलाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए। औषधि खुवाउन जिल्लाभर तीनहजार ७८६ जना स्वयम्सेवक र ४०० स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले हात्तीपाइलेविरुद्धको औषधि सेवनका विषयमा सर्वसाधारणमा भ्रम रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरे। उनले वर्षैैपिच्छे लगातार छ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट हात्तीपाइलेको परजीवी समाप्त हुने र सर्ने सम्भावना न्यून हुने बताए।
हात्तीपाइलेको औषधि ७० वर्ष कटेका, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो र मिर्गौला रोगी तथा छारे रोगीले सेवन गर्न नहुने उनले बताए। रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्