आठ हप्तामाथिको सर्जिकल एबोर्सन नर्सबाट गराउन मेरी स्टोप्सको दबाब
मङ्गलबार, ०८ चैत २०७३
काठमाडौं– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘मेरी स्टोप्स इन्टरनेसनल नेपाल’ ८ हप्तामाथिको सर्जिकल एबोर्सन (शल्यक्रियाबाट गरिने गर्भपतन) नर्सहरुबाट गराउने खेलमा लागेको छ। नियमअनुसार ८ देखि १२ हप्तासम्मको गर्भपतन तालिमप्राप्त एमबिबिएस वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेका डाक्टरले मात्र गर्न पाउँछन्। ८ हप्तामाथिको गर्भपतनमा जटिलता आउने भएकाले तालिमप्राप्त डाक्टरले मात्र गर्नुपर्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. लता बज्राचार्यले बताइन्। नियमअनुसार अनुसार तालिम प्राप्त नर्सहरुले ८ हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन्।
मेरी स्टोप्स अनुसन्धानका लागि भन्दै ८ हप्तामाथिको गर्भपतन नर्सहरुमार्फत गराउने खेलमा लागेको हो। उच्च स्रोतका अनुसार मेरी स्टोप्सको आर्थिक प्रलोभनमा परी नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान गर्ने भन्दै ८ हप्तामाथिको गर्भपतन नर्सहरुलाई गर्न दिने स्वीकृति दिएको छ। डा. बज्राचार्य कुनै पनि बहानामा ८ हप्तामाथिको गर्भतन नर्सहरुलाई दिन नहुने बताउँछिन्। परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेशप्रताप केसी भन्छन्, ‘कानुनभन्दा बाहिर गएर अनुसन्धानका नाममा महिलाको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन।’
स्वास्थ्यका कुनै पनि विषयमा अनुसन्धान गर्नुअघि परिषदबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ। परिषदले स्वीकृति दिनुअघि उक्त अनुसन्धानले जनस्वास्थ्यमा असर गर्ने/नगर्ने, नियम अनुसार भए/नभएको लगायतका विषय अध्ययन गरिन्छ। मेरी स्टोप्सको आर्थिक प्रलोभनमा स्वास्थ्य अनुसन्धान परिषदका पदाधिकारीले केही महिनाअघि महिलाको ज्यान नै तलमाथि पार्न सक्ने अनुसन्धान प्रस्तावलाई स्वीकृति दिएका थिए। तर, परिषदका नवनियुक्त अध्यक्ष डा. अञ्जनीकुमार झाले पुरानो निर्णय उल्ट्याउँदै अनुसन्धान स्थगित गर्न परिवार स्वास्थ्य महाशाखालाई पत्राचार गरेको बताएका छन्।
परिषदले अनुसन्धानका लागि भन्दै नर्सहरुलाई ८ हप्तामाथिको गर्भपतन गर्न स्वीकृति दिएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको छाता संगठन नेसोगले उक्त अनुसन्धान रोक्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ।
‘विद्यमान कानुनी प्रावधान अनुसार नर्सहरुले ८ हप्तासम्मको मात्र (क्याक/एमभिए) विधिबाट गर्भपनत गर्न पाउँछन्। १२ हप्तासम्मलाई क्याक/एमभिए गर्न दिनु गैरकानुनी हुनेछ,’ नेसोगले स्वास्थ्य सचिवलाई बुझाएको पत्रमा उल्लेख छ। सो पत्रमा तालिम लिएका डाक्टरले गर्नुपर्ने शल्यक्रिया अन्य स्वास्थ्यकर्मीद्वारा गराउँदा जटिलता देखापर्ने हुनाले महिलाको स्वास्थ्यको ख्याल गर्दै प्रस्तावित अध्ययनलाई तत्कालै स्थगित गर्न आग्रह गरिएको छ।

मेरी स्टोप्सको प्रस्ताव अनुसार गर्भपतन सेवा खुकुलो बनाएर नर्सलाई दिए मातृमृत्युदर बढ्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एव नेसोगकी अध्यक्ष डा. बज्राचार्य बताउँछिन्।
‘८ हप्तापछिको गर्भपतन गर्न हामी डाक्टरहरुलाई त डर लाग्ने हुन्छ,’ उनले भनिन्, ‘झन् नर्सलाई दिने हो भने त महिलाको ज्यान नै खतरामा पर्न सक्छ ।’ उनका अनुसार अदक्ष जनशक्तिले ८ हप्तापछिको सर्जिकल एबोर्सन गर्दा पाठेघर प्वाल पर्न सक्ने, संक्रमण हुने, बाँझोपन हुनसक्ने तथा अत्याधिक रक्तश्रावका कारण महिलाको ज्यानसमेत जान सक्छ ।
मेरी स्टोप्सले ८ हप्तामाथिको गर्भपतनका लागि तालिम सुरु गर्न राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई दबाब दिएको छ। मेरी स्टोप्सका वरिष्ठ सल्लाहकार केपी उपाध्यायले ८ हप्तामाथिको (मेडिकल र सर्जिकल) गर्भपतन नर्सहरु मार्फत गराउने प्रस्ताव अघि बढाएको स्वीकार गरे। उनले यो विषयमा कुनै निर्णय नभएको र छलफलकै चरणमा रहेको दाबी गरेका छन्।
मेरी स्टोप्स इन्टरनेसनले परिवार नियोजन, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ। गर्भपतन सेवामा लापरबाही गरेको भन्दै मेरी स्टोप्स बेलाबेलामा विवादमा आउने गरेको छ।
अदक्ष जनशक्तिले गरेको गर्भपतनका कारण नेपालमा हरेक वर्ष ८० हजारभन्दा बढी महिलामा जटिल समस्या आउने गरेको गत माघ २८ गते सार्वजनिक गर्भपतन सम्बन्धी राष्ट्रियस्तरको अध्ययन प्रतिवेदनले देखाएको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्